राजकुमार हिरानीको ‘डंकी’मा शाहरुख खान

काठमाडौं । चर्चित लेखक तथा फिल्म निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको पहिलोपटक सहकार्य हुने भएको छ। नयाँ फिल्म ‘डंकी’मा हिरानी र शाहरुखले सहकार्य गर्न लाग्नुभएको हो ।

हिजो फिल्मको घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। शाहरुख र हिरानी दुवैले रोचक भिडियो सामग्री बनाउँदै फिल्मको बारेमा जानकारी दिनुभएको हो । यसै वर्षदेखि छायांकन गर्ने तयारीमा रहेको फिल्म २०२३ को क्रिसमसमा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

२०१८ मा प्रदर्शनमा आएको ‘जिरो’ पछि खानका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन्। उहाँले पुनरागमन गरेको फिल्म ‘पठान’ निर्माणको अन्तिम चरणमा रहेको छ। ‘डंकी’ उहाँको दोस्रो फिल्म हुनेछ।

त्यस्तै २०१८ को सफल बलिउड फिल्म ‘सञ्जु’ पछि हिरानीले कुनै पनि फिल्म निर्देशन गर्नुभएको छैन। कीर्तिमानी फिल्म निर्देशकको रूपमा चिनिने हिरानीको फिल्मका लागि पनि धेरै दर्शक प्रतीक्षामा छन्। यस्तोमा खान र हिरानीको सहकार्य रोचक हुने अनुमान गरिएको छ।

‘मुन्ना भाइ एमबिबिएस’, ‘थ्री इडियट्स’,‘पिके’, ‘सञ्जु’ लगायतका फिल्म लेखन तथा निर्देशन गर्नुभएका हिरानीले ‘डंकी’को लेखन, निर्देशन तथा सम्पादन पनि उहाँ आफैले गर्नुहुनेछ ।

Back to top button