कांग्रेसलाई कसैको वैशाखी लिन आवश्यक छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडि जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।

आज नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको वैशाखीको आवश्यकता नपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनमा कांग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो। नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरीत गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताउनुभयो।

उहाँले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताउनुभयोे। कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उहाँले यसको लेखाजोखा निर्वाचनपछि गर्ने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडि गइराख्या छौँ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ? के हामी कमजोर छौँ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ। नेपाली कांग्रेस एक्लै लड्यो भनेपनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने मलाई आत्मविश्वास छ। हामीहरु के कारणले कम्युनिष्टहरुसित मिलेर स्थानीय निर्वाचनमा अगाडि गइराखेका छौँ? ३६ लाख नयाँ भोटरहरु छन्। ३४ प्रतिशत हामीसित भोट छ। त्यसलाई ४० प्रतिशत कसरी बनाउने? त्यो ३६ लाख भोटरलाई हामीहरुले नेपाली कांग्रेस बनाउन सकेनौँ, त्यसमध्ये १० लाख, २० लाख गरेर हामीले अगाडि बढाउन सकेनौँ भने नेपाली कांग्रेस फेरि कमजोर हुन्छ।’

उहाँले थप्नुभयो,’अघि हामीले कानेखुशी गर्दै थियौँ, गगनजीले मलाई भन्नुभयो– दाइ, कस्तो विडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भनेर भन्दै हुनुहुन्थ्यो। यो अवस्था किन आयो? के कारणले आयो? त्यसको लेखाजोखा यो निर्वाचनपछि हामी गरौँला। तर यो निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन तपाईंहरु घरघर गएर जिताउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु। नेपाली कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडि जानुपर्ने आवश्यकता छैन।’

Back to top button