नेपालगञ्जमा जसपा गठबन्धनको निर्णयको विरोधमा, पार्टी छाड्ने तयारी

नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारीमा जुटेका हुन् ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताउनुभएको छ ।

उहाँले गठबन्धन नमान्ने भन्दै पार्टीले नमाने फरक चुनाव चिह्न जिल्लाभर प्रतिस्पर्धा गर्ने बताउनुभयो । भोली बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

राईलगायत बाँकेका स्थानीय नेताहरूले केन्द्रमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएकै बेला नेपालगञ्जमा जसपाले छुट्टै चुनाव लड्ने भन्दै गठबन्धनलाई लिखित पत्र लेखेको थियो । गठबन्धन दलबीच भएको सहमतिअनुसार जसपाले जनकपुर उपमहानगरपालिका लिने र कांग्रेसले नेपालगञ्ज उपमहानगर लिने सहमति भएको छ ।

Back to top button