वैशाख १३ पछि अर्थमन्त्रीको राजीनामाबारे निर्णय हुन्छ: प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामाबारे निर्णय हुने बताउनुभएको छ । आज कैलालीको धनगढी पुगेर उहाँले पत्रकारहरुसँग यस्तो बताउनुभएको हो ।

उहाँले विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा भन्नुभयो, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। अदालतमा दुवैका कुरा आउँछन्। त्यसपछि मात्र वास्तवमा के भएको हो भन्न सकिन्छ। अहिलै नै ठ्याक्कै केही भन्न सकिँदैन।’

४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको छ। सर्वोच अदालतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अदालतमा बोलाएको छ।

गभर्नर अधिकारीलाई जिम्मेवारी पूरा गर्न दिनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि राजीनामाको दवाव बढेको छ। अर्थमन्त्रीको राजीनामाको दवाव बढेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमै त्यस्तो निर्णय भएको बताउनुभएको हो ।

यस्तै उहाँले फरक सन्र्भमा वैशाख ३० गते नै निर्वाचन हुने बताउनुभएको छ । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए। हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ। अब त केही कन्फ्युज छैन होला।’ उहाँले भन्नुभयो।

सुदूरपश्चिम लगायत देशैभर सबै क्षेत्रमा तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्ने उहाँको भनाइ छ।

Back to top button