एसईई आजदेखि, मोरङका १८ हजार ४ सय ९६ विद्यार्थी परिक्षा दिँदै

विराटनगर। आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुँदैछ । बिहान ८ बजेदेखि परिक्षा हुन लागेको हो ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन एसईई परिक्षा हुन लागेको हो । देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट परिक्षा हुँदैछ ।

जसमा ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुदैछन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् ।

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्। एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

यस्तै मोरङमा सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी एसईईमा सहभागी हुदैछन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले बताउनुभएको छ ।

एसईई परीक्षालाई मर्यादित र सुव्यवस्थित गर्न मोरङमा ७१ वटा परीक्षाकेन्द्र तोकिएका छन् । जसमा दुईवटा परीक्षाकेन्द्र प्राविधिकतर्फ रहेको र ६९ परीक्षा केन्द्र साधारणतर्फ छुट्याइएको छ ।

त्यसैगरी परीक्षा केन्द्राध्यक्ष ७१ जना, सहायक केन्द्राध्यक्ष १२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक सहायक कर्मचारी १८५ जना र कार्यालय सहयोगी ३७१ जना तोकिएको प्रमुख गौतमले जानकारी दिनुभयो । यस वर्षदेखि प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन हुँदैछ ।

Back to top button