राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस बिच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र विश्वस्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयस बिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गर्नुभयो। त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा जानकारी गराउनुभएको थियो।

महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नुभएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा हिजो नेपाल आउनुभएका महानिर्देशक डा. टेड्रोसले हिजो नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आउनुभएको छ । उहाँ यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ।

Back to top button