हामी तीनै तहका सरकारको नेतृत्व गर्दै सुखी जनता बनाउन चाहन्छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतामा गरीबीका धर्काहरु एमालेले देख्न नसक्ने बताउनु भएको छ ।

आज नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनतामा गरीबीका धर्काहरु देख्न नसकिने बताउनुएको हो ।

उहाँले भन्नुभयो,‘नेपाली जनतालाई सुखी जनता बनाउन चाहन्छौं, गरीबी नभएको अभाव नभएको, कुनै असमानता नभएको समतामुलक समाज निर्माण गर्न चाहन्छौं।’

अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन भनेकै नेकपा एमाले रहेको बताउनु भयो । अध्यक्ष केपी ओलीले नेपाल चिनाउने पहिचान एमाले भएको दाबी गर्नुभएको छ । अमेरिकाको आईएसओ स्ट्याण्डर्डजस्तै नेपालको स्ट्याण्डर्ड एमाले भएको उहाँले बताउनुभयो ।

‘वैचारिक स्ट्याण्डर्डमा एमाले, सांगठनिक स्ट्याण्डर्डमा एमाले, कामको स्ट्याण्डर्डमा एमाले, बैठक र नीतिहरुमा एमाले स्ट्याण्डर्ड छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय नीति एमालेको र एमालेको नीति राष्ट्रको नीति हो। देशको सबैभन्दा एडभान्स अर्गनाइजेसन नै एमाले हो।’

वर्तमान सत्ता गठबन्धनसँग कुनै नीति नभएको र देश बेहालको अवस्थामा रहेको टीप्पणी गर्दै उहाँले अब तिनै तहमा एमाले सरकार चाहिने जनताले बुझेको बताउनुभयो । सात सूर्य सात छाप, नेकपा एमाले जिन्दावाद अभियानका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष ओलीले एमालेविरुद्ध एक्लै लड्न नसक्ने भएपछि ‘प्रतिक्रियावादी शक्तिहरू’ मिलेको समेत टिप्पणी गर्नु भएको छ । ‘बाख्रो खानु पर्दा कुनै कोहिपनि हुल बाँधेर जाँदैन तर अर्ना खानु पर्‍यो भने बाघ पनि हुल बाँधेर आउँछ,उहाँले भन्नुभयो, त्यसैगरि अहिले एमालेविरुद्ध हुल बाँधेर आएका छन्, एमाले सानो भएको भए सिध्याउँथे तर एमाले मस्तिष्क हेर्दा कम्प्युटर भन्दा तगडा र मसल हेर्दा अलिबाबा भन्दा ठूलो छ ।’

उहाँले एमालेको शक्तिशाली भएकै कारण गठबन्धन बनाएर एमालेमाथि जाइ लागेको बताउनुभयो । अध्यक्ष ओलीले त्यहि एमालेको शक्ति देखेर गठबन्धनलाई ‘ऐँठन’ हुने गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘हिजोआज गठबन्धनलाई एमालेसँग तर्सिएर रातभरी ऐँठन हुन्छ। झस्केको झस्कै गर्छ ।’

Back to top button