स्थानीय तहको निर्वाचनका लागि मोरङमा ४ हजार १ सय कर्मचारी खटाइँदै

विराटनगर । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि मोरङमा ४ हजार १ सय कर्मचारी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार निर्वाचनमा ४ हजार १ सय कर्मचारी परिचालनको तयारी भइरहेको छ ।

आज विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा प्रजिअ दाहालले मोरङमा १० हजार निजामति कर्मचारी रहेको बताउनु भयो । आवश्यकताका आधारमा कर्मचारी परिचालन गरेर निर्वाचन सम्पन्न गरिने बताउनुभयो ।

मोरङमा ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र छन् । कर्मचारीको खटनपटन प्रमुख निर्वाचन अधिकृतको कार्यालयले गर्ने छ । मुख्य निर्वाचन अधिकृतसहित मोरङका १७ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर हिजोदेखि सञ्चालनमा ल्याइएको छ ।

५ सय मतदाता रहेको मतदान केन्द्रमा ४ जना कर्मचारी खटाउने तयारी रहेको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख एवं उपसचिव लेवन काश्यप अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ५ जना निजामति कर्मचारी र कार्यालय सहयोगी खटाइने छ ।

मोरङमा ५ सयभन्दा कम मतदाता रहेको एउटा मात्रै मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानका दिन निर्वाचन अधिकृतले सहयोगका लागि अरु ३ जना कर्मचारी पनि नियुक्त गर्ने छन् ।

प्रजिअ दाहालका अनुसार निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा म्यादी प्रहरी खटिने छन् । प्रत्येक मतदानस्थलमा ३० मिनेटभित्र पुग्नसक्ने गरी नेपाली सेनाको टोली तयार गरिएको दाहालले बताउनु भयो ।

उहाँका अनुसार सेनाले निर्वाचन लक्षित गस्ती र पेट्रोलिङ सुरु गरेको छ । मतदानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर विकट क्षेत्रको सुरक्षा र गस्तीका लागि हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको प्रजिअ दाहालले बताउनु भयो ।

मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले निर्वाचन आचारसंहिता पालना गर्ने– गराउने, मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिने, मतदान केन्द्रमा कर्मचारी नियुक्त गर्ने, आवश्यक सामग्रीहरुको बाँडफाँट र व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिनु भयो ।

निर्वाचन कार्यालयका अनुसार प्रदेश १ मा रहेका ८ सय ७७ मतदानस्थल र ४ हजार ५१ मतदान केन्द्रमा सुरक्षासहितका जनशक्ति परिचालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेको जानकारी उपसचिव अधिकारीले दिनु भयो ।

Back to top button