काठमाडौं महानगरमा एमालेको प्रतिवद्धतापत्र तीन भाषामा

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । प्रतिवद्धतापत्र नेपाली, नेपालभाषा र अंग्रेजी गरि तीन भाषामा सार्वजनिक गरिएको हो ।

प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ ।

नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै स्थानीय भाषामा पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख तथा नेकपा एमालेका केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नेकपा एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन् । यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन आदि जस्ता विषय केन्द्रित रहेका छन् ।

प्रतिवद्धता–पत्रमा नेकपा एमाले नेतृत्वका जनप्रतिनिधीहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरुको जगेर्ना जस्ता कार्य अघि बढेको उल्लेख गरिएको छ ।

सार्वजनिक प्रतिवद्धता–पत्रमा ७५ बर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको बार्षिक रु १२००० विशेष भत्ता बृद्धि गरी रु. १८,००० पुर्‍याउने उल्लेख गरेको छ ।

‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपबृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ ‘युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धीयुवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’

महानगरको सूचना नियमिता र प्रभावकारी संप्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता–पत्रमा समावेश गरेको छ । लैङ्गिक समानताको आधारः छोरी बुहारीलाई रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने प्रतिवद्धता–पत्रमा रहेको छ ।

सरकारी वा सामुदायिक अस्पतालहरुसँगको सहकार्यमा कम्तिमा ५० शैयाको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याइने, महानगरवासीको स्वास्थ्य अवस्था पहिचानको लागि हेल्थ कार्ड प्रणाली अवलम्वन गर्ने, स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य विमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने लगायतका बिषय प्रतिवद्धतापत्रमा समेटिएको छ ।

पुनर्निर्माण हुन बाँकी रहेका सम्पदाहरुको पुनर्निर्माण गर्ने देखि विश्व सम्पदामा सूचिकृत क्षेत्रको संरक्षण तथा विकासको लागि गुरुयोजना कार्यान्वयन गर्ने प्रतिवद्धतापत्रमा जोड दिइएको छ ।

Back to top button