निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालित

काठमाडौं । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाइएको छ।

निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन्। निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन्।

यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउनुभएको छ ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रूपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने छन् ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ। ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन्।

यसपाली एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ।

सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ।

Back to top button