निर्वाचन सुरक्षाका लागि ७२ घण्टा नेपाल- भारत सीमा नाका बन्द हुने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ ।

दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिनुभयो ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले नाका बन्द गर्न लागिएको हो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको छ। बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गर्नुभएको थियो। साथै भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गर्नुभएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कवाडीसहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

Back to top button