जसपाका नेता उमेश यादवद्धारा पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका नेता उमेश यादवले पार्टी परित्याग गर्नुभएको छ ।

अघिल्लो निर्वाचनमा विराटनगर महानगरको मेयरका उम्मेदवार रहनुभएका नेता यादवले आज पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

यादवले यसपटक पनि मेयरको दाबी गर्दै आउनुभएको थियो । सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।

मेयरको दाबेदार यादव विराटनगरमा गठबन्धन नगरी जसपा एक्लै लड्नुपर्ने पक्षमा रहनुभएको थियो । तर गठबन्धनका कारण पार्टीबाट मेयरको टिकट नपाएपछि उहाँले सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको छ,‘अब म स्वतन्त्र बस्छु ।’ पत्रकारको जिज्ञासामा उहाँले आफु कुनै पार्टीमा नजाने बताउनुभएको छ । उहाँले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा उठ्नुभएका यादवले १४ हजार ९ सय ५८ मत ल्याएर पराजित हुनुभएको थियो ।

हिजो मात्र जसपा नगरसमितिले उपमेयरका लागि उमेश यादव, जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रसहित ८ जनाको नाम सिफारिस गरेको थियो ।

Back to top button