मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले गरे काम ठप्प

काठमाडौं । मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्। आजदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको छ।

अत्यावश्यक कामबाहेक आजदेखि ‘कन्स्ट्रक्सन होलिडे’ गरिएको महासंघका अध्यक्ष रबि सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार पुल, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका आयोजनाहरुमा काम बन्द भएको छ।

पेट्रोलियम पदार्थ डिजेल, फलाम जन्य निर्माण सामग्रीलगायतका विभिन्न निर्माण सामग्रीहरुको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरुले काम सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष सिंहले बताउनुभयो।

वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एक मुष्ट रुपमा ठेक्काहरुको मूल्य समायोजन गर्नुपर्ने आफुहरुको माग रहेको अध्यक्ष सिंहको भनाई छ।

बिहिबार र शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक–एक घण्टा शान्ति पूर्णरुपमा धर्ना दिइएकोमा आज र भोलि स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता समय भएकाले स्थागित गरिएको महासंघले जनाएको छ।

माग पुरा नगरे १३ गतेदेखि आन्दोलन जारी राख्ने अध्यक्ष सिंहले बताउनुभयो।

Back to top button