काठमाडौंमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएर काम गर्छौ : श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रस्तावित उपप्रमुख रामेश्वर श्रेष्ठले आफूहरुले शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको सिफारिसमा उपप्रमुखको उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठले जनताले विश्वास गरेमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएर काम गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्राथामिकता नै शिक्षा र स्वास्थ्य हुन्छ। महानगरको आफ्नै अस्पताल बनाएर जेष्ठ नागरिक गरिबलाई सेवा दिन्छौँ।’

देश सञ्चारसँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले महानगरभित्र रहेका ८९ वटै सामुदायिक विद्यालयको अवस्था सुधारमा आफूले विशेष ध्यान दिने बताउनुभयो।

श्रेष्ठले भन्नुभयो, ‘सामुदायिक विद्यालय सुधार गर्नु हाम्रो प्राथामिकता हुनेछ। त्यस्ता विद्यालयलाई आधुनिकीकरण गर्छौ,’ श्रेष्ठले प्रमुख र उपप्रमुखबीच विवाद झिकेर आफूहरुले समय खेर नफाल्ने बताउनुभयो।

‘मैंले हाम्रो प्रमुखको उम्मेदवार बन्नुभएका सिर्जनासँग कुरा गरेँ। हामीबीच विवाद गरेर समय खेर फाल्दैनौँ। जनताको काममा ध्यान केन्द्रित हुन्छौँ,’ उहाँले भन्नुभयो।

काठमाडौंमा गठबन्धनबाट प्रमुखमा कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ।

काठमाडौँ महानगरपालिका समाजवादी अध्यक्षसमेत रहनुभएका श्रेष्ठ पार्टीका सम्मानित नेता झलनाथ खनाल निकट मानिनुहुन्छ। काठमाडौंको कोर एरिया १२ नम्बर वडाका बासिन्दा उहाँ राम्रो जनसम्पर्क भएका नेता मानिनुहुन्छ।

एमालेले काठमाडौंको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई अघि सारेको छ।

Back to top button