काठमाडौंमा राप्रपाबाट वरिष्ठ कलाकार श्रेष्ठ मेयरको उम्मेदवार

काठमाडौं । वरिष्ठ कलाकार मदन दास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ।

आज राप्रपाका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृह स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीमाझ उहाँले महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरूका लागि सबै वडाहरूमा ज्येष्ठ नागरिक वाटिका, बालबालिकाहरूलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल वाटिका र युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उहाँले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागि पर्ने संकल्प गर्नुभयो ।

राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ।

Back to top button