टिकट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै झापाका १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले दिए राजीनामा

विर्तामोड । स्थानीय तह चुनावको टिकट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै झापाका १०० भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताले आज राजीनामा दिएका छन् । कार्यकर्ताको भावनाअनुसार टिकट वितरण नभएको भन्दै १०० जना भन्दा बढी नेता–कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।

कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि दयानन्द गोस्वामीसहितले सामूहिक राजीनामा दिनुभएको हो । गोस्वामी कांग्रेस झापाका पूर्व जिल्ला सचिवसमेत हो। कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरेकाले आफू पार्टीमा रहनुको कुनै मतलव नरहेको गोस्वामीको भनाइ थियो।

नेपाली कांग्रेसबाट कन्काई नगरपालिकाको मेयरमा चर्चा भइरहनुभएका शेरबहादुर थापाले पनि पार्टी परित्याग गर्नुभएको छ । उहाँले पार्टीभन्दा व्यक्ति खराब भएको प्रतिक्रिया दिँदै पार्टी छाड्नुभएको हो ।

२०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरू हावी भएको टिप्पणी गर्नुभएको छ।

Back to top button