माअ‍ोवादी पार्टी नै होइन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र पार्टी नै नभएको बताउनुभएको छ ।

आज सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै उहाँले माओवादी पार्टी नभइ एउटा सेन्टर मात्रै भएको बताउनुभयो ।

उहाँले माओवादीसँग कुनै एजेण्डा नभएको भन्दै यस्ता सेन्टर त धेरै भएपनि हुने चुनावी घोषणापत्र निकाल्न नसक्ने बताउनुभयो । ‘कांग्रेसले निकालेको छ, भैगो नि भन्ने भान छ माओवादीलाई’उहाँले टीप्पणी गर्दै भन्नुभयो, ‘माओवादी केन्द्रले के गर्छ, के गर्दैछ भन्नै सक्दैन, उ सँग एजेण्डै छैन ।’ यस्तै अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई चोइटोवादीको संज्ञा दिनुभयो ।

मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको भन्दै उहाँले अनेक दुःख–कष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण गर्नुभयो ।

‘दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो, उहाँले भन्नुभयो, ‘छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।’

अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलनको वैचारिक र व्यवहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति एमाले नै रहेको छ । उहाँले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको भन्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताउनुभयो । मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।

Back to top button