महानगरलाई कार्यकर्ता भर्तिकेन्द्र बनाईने छैन : सागर थापा

निशान्त ढुंगाना, 

विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रेस चौतारी मोरङले आयोजना गरेको प्रमुख–उपप्रमुखका उम्मेदवारसँग पत्रकारको साक्षात्कार कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नसक्ने गरि कार्यकर्तालाई महानगरको कर्मचारी नबनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले अहिले महानगरमा अनेकन बेथिती देखिएको भन्दै त्यसलाई सुधारेर अघि बढ्ने बताउनुभयो ।

उहाँले महानगरका कर्मचारीसँग सहकार्य र समन्वय गर्दै जनताको सेवामा समर्पित हुने बताउँदै राम्रो काम गर्नेलाई पुरस्कार र जनतालाई दुःख दिनेलाई तत्काल दण्डित गर्ने अभियान चलाईने बताउनुभयो ।

मेयरको उम्मेदवार थापाले एमाले महानगरवासीको लागि आर्थिक सम्वृद्धिको योजनासहित आएको दाबी गर्नुभयो । उहाँले करको दायरालाई फराकिलो बनाउदै विराटनगरको औधोगिक सहरको पहिचानलाई पूर्ण स्थापित गराउने योजना ल्याउने बताउनुभयो ।

मेयरका उम्मेदवार थापाले एमालेले आर्थीक, शिक्षा, स्वास्थ, पर्यटन, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेटेर एमालेले खाका बनाएको र त्यै खाका अनुरुप आफुहरुले काम गर्ने बताउनु भयो। करको दायरा फराकिलो बनाएर महानगरलाई आयआर्जनको बाटोमा लाने देखि बेरोजगार जनशक्तिलाई रोजगारीको तालिम दिएर लघु–उद्यम लाई प्रोत्साहन गरिने बताउनुभयो ।

‘प्रदेश १ को एक मात्रै महानगर र राजधानी घोषणा गरिएको आर्थिक नगरीको महत्व घट्न दिईने छैन, मेयरका उमेदवार थापाले पत्रकारको जिज्ञासामा उहाँले ‘एमालेको नेतृत्वले सुरु गरेको विराटनगरको चक्रपथ पाँचवर्षमा सम्पन्न गर्ने बताउनुभयो ।

२०५१ सालमा तत्कालिन एमालेका नेता गुरु बरालले ल्याएको विराटनगर चक्रपथको अवधारणा बर्षौदेखि अलपत्र रहेको छ । सुस्ताएको चक्रपथ निर्माणको कामलाई पूरा गरिने उहाँले बताउनुभयो ।

यसैगरी आन्तरिक आय बृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी सार्ने, विराटनगरको पहिचान हुने गरिको राजनीतिक संग्राहलय बनाउने मेयरका उमेदवार थापाको प्रतिवद्धता छ ।

विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने गरिको संग्राहालय स्थापना गर्ने बताउनुभएका थापाले विराटनगरमा पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनैपनि भौतिक संरचनामा लगानी नगरिने जिकिर गर्नुभयो ।

यसैगरी प्रदेशको स्थायी राजधानीका लागि जग्गा उपलब्ध गराउने, प्रदेश र संघसँगको बारम्बार समन्वयमा योजना, भएका स्वास्थ्य र शिक्षाका संरचना प्रयोगमा विशेष जोड, उद्यमशीलताको विकास र रोजगारी, अतिविपन्न पहिचान जस्ता कार्यक्रम अगाडी सारिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

विराटनगरको डुबान र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो वर्षमा योजना कार्यन्वयन गर्ने दावी गरिएको उहाँले गर्नुभएको छ ।

आफूलाई भूई मान्छेको संज्ञा दिनुभएका उम्मेदवार थापाले आफु सामान्य परिवारमा जन्मेर सामान्य परिवारकै मानिसहरुको संगतमा जन्मे हुर्के र पढेको स्मरण गर्दै उहाँले आफ्नो ध्यान महानगरबासीको समृद्धीमा केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो मुख्य एजेण्डा भनेकै बिकास हुनेछ । सर्वाङ्गीण विकास ।’

यस्तै कार्यक्रममा उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले महिला सशक्तिकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारीलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले विराटनगर महानगर क्षेत्रमा आवश्यक मात्रामा शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजानिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानगरमा गठबन्धनको तर्फबाट महिला उम्मेदवार नउठाएको प्रति संकेत गर्दै उहाँले नेकपा एमालेले आफूलाई उम्मेदवार बनाएर महानगरका आम महिलाहरुको प्रतिनिधित्व गराएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज बिनोद ढकालले महानगरको निर्वाचन घोषणापत्र पार्टीले चाँडै सार्वजनिक गर्ने बताउनुभयो । उहाँले पार्टीले पठाएका उमेदवारले विजयी प्राप्त गरेपछि नागरिकको पक्षमा काम गराउन सधैं खबरदारी र सुझाव दिइने बताउनुभयो ।

उहाँले यस पटक नेकपा एमालेले निर्वाचनमा विजयी हाँसिल गर्ने बताउँदै महानगरको विकासका लागि एमाले कै नेतृत्व आउनुपर्नेमा जोड दिनुभयो । विगतमा एमालेले जति जति बेला नेतृत्वको अवसर पायो, त्यतिबेला गरेकै बिकासमात्र अहिलेसम्म रहेको भन्दै उहाँले एमालेले अघि सार्ने घोषणापत्र र प्रतिवद्धतापत्रमै केन्द्रित रहेर त्यसलाई कार्यान्वयन हुने समेत दाबी गर्नुभयो ।

Back to top button