मेयरकी उम्मेदवार सिंहलाई प्रधानमन्त्रीपत्नी राणाको साथ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको सिर्जना सिंहलाई प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले जितका लागि अग्रिम शुभकामना दिनुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएको सिंहलाई राणाले जितका लागि अग्रिम शुभकामना दिनुभएको हो ।

आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदका लागि अग्रिम बधाई ज्ञापन गर्नुभयो।

यस्तै राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने पनि बताउनुभयो। कार्यक्रममा काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीले महिलाबाटै विकास सम्भव रहेको बताउनुभयो।

उहाँले काठमाडौं महानगरको नेतृत्वका लागि सिंहले दिएको उम्मेदवारीबाट काठमाडौंवासी महिला खुशी भएको र महिलाका समस्या समाधान हुनेमा विश्वस्त भएको बताउनुभयो।

काठमाडौंका सबै वडाका महिलाले आज कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मेदवारी दिनुभएको सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन्।

Back to top button