मोरङमा मात्रै ४ हजार ५ सय बढीको उम्मेदवारी

विराटनगर । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङबाट ४ हजार ५ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लाका सबै पालिकाबाट विभिन्न पदमा ४ हजार ५ सय ७६ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ ।

मोरङमा एउटा महानगरपालिका ८ वटा नगरपालिका र ८ गाउँपालिका रहेका छन् । जसमध्ये विराटनगर महानगरपालिकामा मात्रै प्रमुख– उपप्रमुखसहितका सबै पदमा ७ सय ५४ ले उम्मेदवारी दिएका छन् ।

यस्तै नगरपालिकाहरु मध्ये सबैभन्दा बढी उम्मेदवारी सुन्दरहरैँचामा परेको छ । जहाँ सबै पदमा ३ सय १३ जनाको उम्मेदवारी परेको छ भने बेलबारी नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २ सय ९९ जनाले उम्मेदवारी दिएका छन् ।

उर्लाबारी नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २ सय ९४, रङ्गेली नगरपालिकामा २ सय ८६ र पथरीशनिश्चरे नगरपालिकामा २ सय ८० जनाले मनोनयन दर्ता गराएका छन ।

यस्तै सुनवर्षी नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २ सय ७६ जनाको उम्मेदवारी परेको छ भने लेटाङ नगरपालिकामा सबै पदमा १ सय ६१ र रतुवामाई नगरपालिकामा २ सय ४९ जनाले उम्मेदवारी दिएका छन् ।

गाउँपालिकातर्फ केराबारी गाउँपालिकामा १ सय ९०, मिक्लाजुङ गाउँपालिकामा २ सय ४७ , कानेपोखरी गाउँपालिकामा १ सय ९०, बूढीगङ्गा गाउँपालिकामा १ सय ९१ जनाको उम्मेदवारी परेको छ ।

ग्रामथान गाउँपालिकामा १ सय ९५, कटहरी गाउँपालिकामा २ सय ४, धनपालथान गाउँपालिकामा १ सय ८२ र जहदा गाउँपालिकाका सबै पदमा गरि २ सय ६५ जनाको उम्मेदवारी परेको छ ।

Back to top button