टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता हुनु दुःखद : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको आरोप लगाउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेता डा. कोइरालाले टिकट वितरणमा आर्थिक चलखेलले इमान्दार र निष्ठावान कार्यकर्तालाई अन्याय भएको बताउनुभएको हो ।

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन भन्दै उहाँले त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरुले भाग्नुपरेको बताउनुभएको छ ।

‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन। पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने आफूले बताएपनि समानरुपले न्याय नभएको उहाँले बताउनुभएको छ । नेता कोइरालाले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुग्नुपरेको र स्वतन्त्र उमेदवार दिने अवस्था आउनु दखद रहेको बताउनुभएको छ ।

उहाँले पार्टीभित्र असहमति राख्नेहरुको राजनितिक जीवन नै समाप्त पार्ने काम भएको भन्दै पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्नुभएको छ ।

स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने भन्दै नेता कोइरालाले तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ,‘ आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन सबैमा अपिल गर्दछु ।

Back to top button