पार्टीविरुद्ध लागेका कारण हेमन्त र धर्मेन्द्रलाई कारबाही : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले उक्साहटमा पार्टी विरुद्धको गतिविधि गरेको आरोप लगाउनुभएको छ ।

सुदर्शन बास्तोलालाई पार्टीका निष्कासन गरेको विज्ञप्ति जारी गर्दै विप्लवले भन्नुभएको छ, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’

उक्साहटमा लागेर अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारणले कारवाहीको निर्णय गर्न बाध्य भएको उहाँले बताउनुभयो। सुदर्शन र कञ्चनले पार्टीमा नमिलेको कुरा स्थानीय चुनावलाई देखाएर पार्टी विपरित गतिविधिमा संलग्न भएको उहाँको भनाइ छ।

‘यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदादेखि नै क. सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए। सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गम्भीर छलफल भए’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी कमरेड कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गम्भीर छलफल चलेका थिए र केही विषय मेल खाएको थिएन। तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ।’

चुनावकै कुरा गर्दा गएको असोज(कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजरकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राखेको उहाँको भनाइ छ।

Back to top button