विश्व महिला बक्सिङमा नेपालका ४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

यस्तै, संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला ४ बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ संघका प्रवक्ता श्याम काजी अवालेले बताउनुभयो।

आगामी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नुहुनेछ ।

सुस्मनले ४८ केजी तौल समूहमा, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । सहभागी उक्त ४ जना खेलाडीहरु गत महिना थाइल्यान्डमा भएको खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप खेलेर आएका खेलाडी हुन्।

खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइवा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिइरहनुभएको छ । आसन्न १९ औँ एसियन प्रतियोगिता (एसियाड) को तयारीका लागि पनि यस प्रतियोगिता महत्वपूर्ण हुने संघले जनाएको छ।

Back to top button