नेपाली कांग्रेसका स्वतन्त्रलाई उम्मेदवारी फिर्ता लिन महामन्त्री थापाको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्नुभएको छ ।

उहाँले निर्वाचनमा होमिएको वेला पार्टी निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको वेला पार्टीको निर्णयविपरीत उम्मेदवारी दिन नमिल्ने बताउनुभयो।

त्यसरी उम्मेदवारी दिँदा पार्टीको हितमा नहुने उहाँले पटक–पटक दोहोर्‍याउनुभयो। उहाँले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णयअनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो।

महामन्त्री थापाले भन्नुभयो, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टी भित्र फरक मत मात्रै होइन‚ ठूलो भिन्न मत पनि छ। यसबारे संघर्ष पनि भयो। त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ। तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो। दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्विकार गर्ने हो।’

उहाँले चुनावपछि पार्टीमा यी सबै विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म देशभरीका पार्टीका साथीहरू, जसले अहिले पार्टीको निर्णय बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ। म तमाम ती साथीहरूलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी रहेकाले उम्मेदवारी फिर्ता लिनुस्।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनुभयो। अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उहाँको भनाइ थियो।

Back to top button