गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रम, कांग्रेस कार्यकर्ताको विरोधले प्रभावित

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताको विरोध प्रदर्शनका कारण पोखरामा सत्तारुढ पाँच दलीय गठबन्धनले गर्न लागेको घोषणापत्र तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रम प्रभावित भएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका कारण दिउँसो २ बजे गर्ने भनिएको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन ।

पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसारमा लागिसक्दा पनि भागबण्डामा अर्कालाई दिन लागिएको भन्दै उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला नै लगाएका छन् ।

पोखरा महानगरपालिकाको वडा नं १८, २४, २२ नेकपा माओवादी केन्द्रलाई दिन लागिएको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन् ।

पोखरा महानगरको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएपछि पोखराका कांग्रेस कार्यकर्ता शीर्ष नेतृत्वप्रति आक्रोशित थिए । अब ३ वटा वडा पनि माओवादीलाई दिन लागेपछि उनीहरु थप आक्रोशित भएका हुन् ।

Back to top button