खुल्ला पौडी प्रतियोगिता बैशाख २२–२३ मा हुने

काठमाडौं । ​२४ औँ खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ।

नेपाल पौडी संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ र २३ गते हुने जनाएको हो।

प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ। प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरुष गरी करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ।

दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगितालाई, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाउनुभयो।

यो प्रतियोगिता १९ औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराउनुभयो।

Back to top button