उम्मेदवारी फिर्ता गराउन दवाव नदिन दलहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई फिर्ता गराउन दबाब नदिन राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै उम्मेदवारी दर्ताको क्रममा मनोनयन गराएका कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन आग्रह गरेको हो ।

‘उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ,‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जान्छ ।’

निर्वाचनलाई प्रभाव पार्ने गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्‍याउने उल्लेख गर्दै आयोगले सरोकारवाला सबैप्रति त्यस्तो नगर्न आग्रह गरेको छ ।

Back to top button