लोडसेडिङको समस्या समाधान नभए आन्दोलनमा उत्रने उद्योगी व्यवसायीको चेतावनी

निशान्त ढुङ्गाना,

विराटनगर । मोरङ–सुनसरी कोरिडोरका उद्योगहरुमा विगत ७८ घण्टा देखि विद्युत आपूर्ति ठप्प भएर उद्योगधन्दा सञ्चालन गर्ने अवस्थामा नरहेको यहाँका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघ, प्रदेश नं १, मोरङ व्यापार संघ र उद्योग संगठन , मोरङले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै लोडसेडिङको समस्याले उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघ, प्रदेश– १ का अध्यक्ष भिम घिमिरेले लोडसेडिङको समस्या हल गर्न सरकारले आवश्यक पहलकदमी लिनुपर्ने बताउनुभयो । उहाँले सरकारले भारतसँग विद्युत आपूर्ति सहज गर्न सार्थक कुटनीतिक पहल नगरे उद्योगीहरु चरणबद्द आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।

सरकारले मंगलबारसम्म ठोस हस्तक्षेप नगरे बुधबारदेखि उद्योगीहरुले विराटनगरमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी तथा धर्ना दिने घिमिरेले जानकारी दिनुभयो।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्गले मोरङ–सुनसरी कोरिडोरको उद्योगी व्यवसायीप्रति हेपायती व्यवहार देखाएको आरोप लगाउनुभयो ।

भैरहवामा हालसम्म लोडसेडिङको समस्या नदेखिएको र वीरगंजमा दिनमा ४ देखि ६ घण्टा मात्र विद्युतमा समस्या रहेको बताउँदै उहाँले घिसिङ्गले पूर्वको उद्योगीप्रति पुर्वाग्रह देखाएको बताउनुभयो ।

‘कोरोना कहरले थालिएको उद्योग–व्यवसाय अहिले लोडसेडिङको समस्याले बन्द हुने अवस्थामा छ’ अध्यक्ष रिजालले भन्नुभयो ‘उद्योग बन्द भए उद्योगी मात्र नभई उद्योगमा आश्रित मजदुरको आय–आर्जन पनि बन्द हुन्छ । त्यसको जिम्मा सरकारले लिनुपर्नेछ।’

उद्योग संगठन, मोरङका कार्यवहाक अध्यक्ष प्रदिप मुरारकाले सरकारले आघोषित रुपमा लोडसेडिङ गर्नु भन्दा घोषित तालिका दिए उद्योगीहरु एउटा निष्कर्षमा पुग्न सक्ने बताउनुभयो ।

देशमा लोडसेडिङको समस्या देखिएको स्वीकार नगर्ने र खोक्रो रुपमा राम्रो देखाउन खोज्ने सरकारको प्रवृत्तिले समस्या भएको उहाँले बताउनुभयो ।

यसअघि पनि विराटनगरको उद्योगीहरुले लोडसेडिङको समस्याले उद्योग सञ्चालन गर्न नसकिने भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यसबेला नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युतको आपूर्ति बढाएर समस्या समाधान गरेको थियो ।

Back to top button