विराटनगर महानगरमा २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगर । स्थानीय तह निर्वाचनको लागि विराटनगर महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

जस मध्ये मेयरमा उम्मेदवारी दिएका तीन जनाले मनोनयन फिर्ता गरेका छन् । उपमेयरमा दुई जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मेयरका उम्मेदवार टंकप्रसाद गौतम, महेश निरौला र केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

गौतमले राष्ट्रिय जनमोर्चा, निरौलाले नेपाल परिवार दलबाट र ओडारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । यस्तै उपमेयरमा उद्धवप्रसाद कोइराला र दीपा दाहालले उम्मेदवारी फिर्ता गर्नुभएको छ । नेपाली कांग्रेसका नेता कोइरालाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो भने दाहालले परिवार दलबाट उम्मेदवारी दिनुभएको थियो ।

यस्तै ७ जना वडा अध्यक्ष र ११ जना वडा सदस्यहरुले मनोनयन फिर्ता लिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा) त्याग गर्दै मेयरमा उम्मेदवारी दिनुभएका उमेश यादव र माओवादीबाट राजीनामा दिएर उपमेयरमा उम्मेदवारी दिनुभएकी नमिता न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएन ।

Back to top button