हामी चुनाव जित्छौं : सागर थापा

स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार सागर थापा हुनुहुन्छ । ३० वर्षदेखि विराटनगरको राजनीतिमा सक्रिय थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा दुई पटक स्ववियु सभापतिमा निर्वाचित हुनु भयो । त्यस ताका आफ्ना प्यानलका सबै उमेदवारहरु पराजीत हुँदा पनि उहाँ एक्लै सभापतिमा निर्वाचित भएपछि चर्चा चुलिएको थियो । विराटनगरमा स्थापित नामका रुपमा परिचित सागर थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य र विगत एक दशकदेखि महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ । हाल महानगर कमिटीको अध्यक्ष रहनु भएका थापा मेयरको उम्मेदवार बनेपछि उहाँसँग गरिएको संक्षिप्त कुराकानी

तपाईको विराटनगरमा जित्ने आधार के ?

विराटनगरमा २०४३ सालमा जनपक्षीय उमेदवारले जिते । त्यसपछि बहुदलीय व्यवस्थामा २०४९ सालको स्थानीय चुनावमा नेकपा एमालेले चुनावमा धाँधली भएपछि बहिस्कार गर्दा सम्मानजनक मत ल्याएको र २०५४ सालमा एमालेले विजय हासिल गरेको थियो । फेरी २०७४ सालमा काँग्रेस विजयी बन्यो । यो हिसाबले हेर्दा अब जित्ने पालो हाम्रो हो । यी परम्परागत कुरा भए । यस पटक भने हामी विराटनगरलाई सम्वृद्ध बनाउने, श्रमजीविका सवालहरुलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रर्वद्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचारमुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विराटनगरबासीको साथ र सहयोग छ ।

औद्योगिक सहरको रुपमा परिचित विराटनगरको साखलाई फर्काउदै यहाँको उद्योग व्यवसायलाई पुनर्जीवित गर्न तपाईको कस्तो प्रयत्न रहन्छ ?

नेपालको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएसँगै विराटनगरको पहिचान औद्योगिक सहरको रुपमा स्थापित भएको हो । विराटनगर कुनै समय उद्योग नै उद्योगको सहर थियो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रुपले पनि सम्पन्न थियो । तर पछिल्लो समय उद्योगी व्यवसायीहरु पलायन हुने र यहाँको उद्योगहरु धरासयी बन्न थाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरुलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ । विराटनगरको करलाई उद्योगी व्यवसायीमैत्री बनाउछौँ । उद्योगीहरुलाई सम्मान र अभिनन्दन गर्ने कार्यक्रम ल्याएर प्रोत्साहन गर्छाै । सेवालाई डिजिटलाइजेसन गर्दै झन्झटमुक्त प्रशासन बनाउने छौँ । उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिक वातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थल बनाउने प्रतिबद्धतासहित हामी अघि बढेका छौँ ।

शिक्षा र स्वास्थ्यमा तपाईको योजना के हो ?

हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षालय बनाउछौँ । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौँ । सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौँ । समुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने छौँ । निशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौँ ।

सुशासनकालागि तपाईको प्रयत्न र प्रतिबद्धता के हुन्छ ?

विराटनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दूरुस्त कर्मचारी प्रशासन बनाइने छ । भइरहेका करार र सबै खाले कर्मचारीको स्थायित्व गर्दै उनिहरुलाई प्रोत्साहन नीतिमार्फत काममा लगाइने छ । विराटनगर भित्र भएका सबै कर्मचारीहरुलाई नयाँ उर्जाका साथ काम गर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयलाई प्रभावकारी बनाइने छ । लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहन गर्ने काम अगाडि बढाउने छौँ । भ्रष्टाचारमा मात्र नभइ ढिलासुस्तीमा समेत सुन्य सहनशिलता अपनाउने छौँ ।

विराटनगरका सुकुम्बासी समस्या समाधान गर्ने योजना के छ ?

विराटनगरमा रहेका सबै सुकुम्बासीहरुको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनैपनि सुकुम्बासी परिवार घरबारविहिन हुने छैनन । विराटनगरमा रहेका सुकुम्बासी बस्तीहरुमा सडक, विद्युत, खानेपानी पुर्याउने कार्यलाई तीव्रता दिइने छ ।

विराटनगरको मुख्य समस्या डुबान हो । यसलाई नियन्त्रण गर्नको लागि तपाईको योजना कसरी अघि बढ्छ ?

हामी डुबान क्षेत्रको पहिचान गरि त्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबान मुक्त हुनका लागि ढलहरुको निर्माण र खोलाहरुमा तटबन्ध र त्यस छेउका बस्तिको व्यवस्थापन गर्छौं ।

योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरु, दातृ निकायसँगको सहकार्य र आन्तरीक स्रोतहरुको पहिचान र करका नयाँ क्षेत्रहरु खोजि गरि स्रोतको व्यवस्थापन गरिनेछ ।

Back to top button