१ सय ४६ केजी गाँजासहित तीन जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको बाटो हुँदै भारततर्फ लैजान लागिएको ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरेको छ ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट सशस्त्रले १ सय ४८ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

मिनी ट्रकमा राखेर भारत कटाउन खोजिएको गाँजा गएराति ९ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले जानकारी दिनुभएको छ ।

प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन डीआईजी गिरीले विशेष टोली परिचालन गर्नुभएको थियो ।

उक्त टोलीले १ सय ४८ किलो गाँजा र ट्रकसहित चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३६ वर्षीय हेमप्रसाद राईलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाँजा नियन्त्रणमा लिएपछि सशस्त्रलाई आर्थिक प्रलोभन देखाउँदै ‘सेटिङ’ मिलाउन खोज्ने २ जनासमेत पक्राउ परेका छन् । सशस्त्रलाई पैसा बुझाएर ट्रक, गाँजा र चालकलाई छुटाउन प्रयास गर्ने सहिदभूमि–२ का ३६ वर्षीय हिक्मत राई र ३५ वर्षीय आशिष राईलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्रलाई बुझाउन ५ लाख ५० हजार रूपैयाँ लिएर उनीहरू आएको खुलेको छ । सेटिङ मिलाउन को ४० प २२११ नम्बरको पल्सर मोटरसाइकलमा आएका हिक्मत र आशिषलाई नगदसहित पक्राउ गरिएको डीआईजी गिरीले बताउनुभएको छ ।

पक्राउ परेका व्यक्तिसहित नियन्त्रणमा लिइएको नगद, गाँजा र ट्रक आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

Back to top button