ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै उनीहरु निर्विरोध भएका हुन् ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट एक जना र माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच जना निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल निर्विरोध हुनुभएको छ ।

कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध हुनुभएको छ ।

यस्तै फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी निर्विरोध हुनुभएको छ  ।

मिक्वाखोला–५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले जानकारी दिनुभएको छ ।

Back to top button