जनकपुर विमानस्थलको सुरक्षा जिम्मा अब नेपाली सेनालाई

जनकपुर । जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा अब नेपाली सेनालाई दिइएको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीको जिम्मामा रहेको एयरपोर्ट नेपाली सेनाको जिम्मामा दिइएको हो।

हिजोदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ। जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले एयरपोर्टमा खटिरहेका सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका कारण नफर्केसम्म नेपाली सेना विमानस्थलको सुरक्षामा रहने बताउनुभयो।

यस्तै, उहाँले मेजरको नेतृत्वमा ४८ जना नेपाली सैनिक सुरक्षामा खटेको पनि जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘एक्सरे मेसिन, विमानस्थल सुरक्षा गार्ड नेपाल प्रहरीले नै राख्नुभएको हो। अर्को विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरुषका लागि पुरुष प्रहरी नै खट्नु भएको हो। यस्तै भिआइपीहरुको लिस्टिङका लागि एकजना नेपाल प्रहरी हुनुहुन्छ बाँकी सबै नेपाली सेना नै हुनुहुन्छ।’

निर्वाचन सकिएपछि विमानस्थलको सुरक्षामा रहेका नेपाल प्रहरी नआएसम्म नेपाली सेना विमानस्थलको सुरक्षामा रहने प्रमुख कुँवरले बताउनुभयो।

Back to top button