निर्वाचनमा पार्टीको निर्णय विपरीत जानेलाई कारबाही हुन्छ: कांग्रेस नेता कोइराला

विराटनगर । स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत जानेलाई कारबाही हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिनुभयो। पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एकप्रकारको भए पनि पार्टीको निर्णयलाई अस्वीकार गर्न नहुने उहाँको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशनबाट असन्तुष्टले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको सन्दर्भमा नेता कोइरालाले निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘बागी, स्वतन्त्र उम्मेदवारी दिएर पार्टीलाई कमजोर बनाउने भन्दा पनि पार्टीलाई बलियो बनाउने सबैको भूमिका एक हुनुपर्नेछ। पार्टी विधानले नै बागी उम्मेदवार तथा प्रस्तावकलाई कारबाही गर्ने उल्लेख गरेको छ। अन्ततः सोही अनुरूप पार्टी अघि बढ्छ।’

‘निर्वाचनका क्रममा कसले टिकट पायो, के गर्‍यो, अहिले ती कुरा छोड्नुस्, अब सबैले एकढिक्का भएर पार्टी र पार्टीले अघि बढाएको उम्मेदवारलाई विजयी गराउन तर्फ लाग्न हो’,उहाँले थप्नुभयो।

कार्यक्रममा पार्टीले चयन गरेको उमेदवारविरुद्ध षड्यन्त्र भइरहेको जनाउँदै सहभागी नेता कार्यकर्ताले त्यस्ता व्यक्तिलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।

Back to top button