मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

आज काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको हो ।

उहाँले मुलुकका विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताउनुभयो। मुलुकभित्रका हिमालहरु, तराई, पहाड, नदीहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह समेत गर्नुभयो।

उहाँले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने दाबी गर्नुभयो। मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्‍याउनुभयो।

उहाँले भन्नुभयो, ‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहन्छु। हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परीक्षणवालाहरुले परीक्षण गर्नुपर्ने बेला भयो। विभिन्न क्षेत्रको लेखा परीक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ।’

अर्थमन्त्री शर्माले विगतमा लेखा परीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ, त्यसको खोजी भइरहेको बताउनुभयो।

Back to top button