स्थानीय निर्वाचनमा एमालेलाई विजय हुन कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन कसैले नसक्ने बताउनुभएको छ ।झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा लालकिला हुने घोषणा गर्नुभएको हो ।

झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई हराउन कसैले नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै विकास सम्भव भएकोले विकासका लागि एमालेलाई विजयी गराउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ। दुई होस् या पाँच दल होस्, एमालेले कराककुरुक बनाईदिन्छ ।’

अध्यक्ष ओलीले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै यहाँको विकासका लागि जिम्मेवार हुने पार्टी एमाले भएको बताउनुभयो । आफू हल्दिबारी नै किन आएको हु भने यहाँको विकासको जिम्मा लिन आएको हो, उहाँले भन्नुभयो, ‘अध्यक्ष डम्बर गिरी, उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।’

कार्यक्रमका प्रमुख अतिथि ओलीले हल्दिबारीको विकास गर्न र केन्द्रबाट विकास ल्याउन सक्ने व्यक्ति डम्बर गिरी नै भएको बताउनुभयो । कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गर्नुभएको थियो ।

ओलीले भद्रपुर र हल्दिबारीमा सम्बोधन गरिसक्नुभएको छ भने अब धुलाबारी र बिर्तामोड सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Back to top button