मोरङका १७ वटै पालिकामा नेकपा एमालेको चुनावी अभियान तिब्र

मोरङ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उमेदवारहरुले चुनावी अभियानलाई सशक्त बनाएका छन् ।

मोरङका १७ वटै पालिकाका स्थानीय सञ्चारकर्मीहरुले दिएको जानकारी अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई तिव्रता दिएका हुन् ।

केराबारीबाट त्रिलोचन पौडेलका अनुसार पालिकाका अधिकांश वडाहरुमा उमेदवारहरुले घरदैलो सम्पन्न गरिसकेका छन् । जनताको उत्साहजनक सहभागिता रहेका घरदैलो तथा कोणसभा कार्यक्रमहरुमा उमेदवार र पार्टी नेताहरुले निर्वाचनवाट विजयी भएर पालिकाको नेतृत्व लिएपछि जनताका अपेक्षाको सही सम्वोधन हुने जनाएका छन् ।

यसैगरी मिक्लाजुङ्बाट सन्तोष गौतमले पनि पालिकाका विभिन्न स्थानमा चुनावी प्रचारको अभियान जारी रहेको बताउनुभएको छ ।

उर्लावारीबाट सुमन घिमिरेका अनुसार एमालेका मेयर उपमेयर सहित विभिन्न वडाका उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु लिएर जनताका घरदैलोमा पुग्ने क्रम चलिरहेको छ ।

पथरी शनिश्चरेमा पनि नेकपा एमालेका उमेदवारहरु विभिन्न वडाहरुमा चुनावी अभियान दिनरात जुटिरहेको स्थानीय पत्रकार सन्तोष राईले बताउनुभयो ।

कानेपोखरीबाट पत्रकार दिनेश सुव्वाका अनुसार यसपटकको निर्वाचनमा एमालेप्रतिको जनधारणा एकदमै सकारात्मक देखिएको बताउनुभयो । उहाँका अनुसार कानेपोखरीका मेयर उपमेयर सहित सबै वडाका उमेदवार चुनावी प्रचार अभियानमै केन्द्रित छन् ।

बेलबारीका पत्रकार खनिन्द्रकुमार राईका अनुसार बेलबारीमा सबैजसो राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार अभियान जारी राखेका छन् । आफ्नो चुनावी प्रचार अभियानकै सन्दर्भमा नेकपा एमालेले आज आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

सुन्दर हरैंचामा पनि पार्टीहरुले चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छन् । पत्रकार किशोर वुढाथोकीका अनुसार नेकपा एमालेले भने आफ्ना मेयर उपमेर लगायत सबै वडाका अध्यक्षहरुलाई समेटेर चुनावी प्रचार अभियान सञ्चालन गरेको छ । जनतासामू जाँदा एमालेले जनताका अपेक्षाहरुलाई आफ्ना प्रतिववद्धतासँग जोडेको छ ।

वुढीगंगाबाट पत्रकार सञ्जय चौधरीका अनुसार नेकपा एमालेले त्यहाँ पनि चुनावी प्रचार अभियानलाई तिब्रता दिएको छ । एमालेप्रतिको जनअपेक्षाका विषयमा जानकारी गराउन स्थानीय पार्टी कमिटीले पत्रकार सम्मेलन गराउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

विराटनगरका मेयर तथा उपमेयरका साथमा निरन्तर चुनावी अभियानमा रहेका पत्रकार सशाङ्क पौडेलले १९ वडामध्ये अधिकांशमा एमालेका नेताहरुसहित उमेदवारहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् । यसक्रममा जनताको एमालेप्रति उत्साहपूर्ण सद्भाव रहेको उहाँले बताउनुभयो ।

पत्रकार रोमा दाहालका अनुसार कटहरीमा पनि एमालेले चुनावी प्रचार अभियानका रुपमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । धनपालथानका विभिन्न वडाहरुमा अरु पार्टीहरु जस्तै एमालेले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको पत्रकार कमल रिमालले बताउनुभयो ।

पत्रकार विद्यानन्द चौधरीका अनुसार रंगेली नगरपालिकामा एमाले चुनाव प्रचार अभियान अन्यपार्टीको भन्दा प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ ।

अन्य पार्टीहरुले चुनावी प्रचार अभियानका क्रममा आचारसंहित उल्लङ्घन गरेका छिटपुट घटना उल्लेख गर्दै रतुवामाईबाट पत्रकार किशोर विश्वकर्माले नेकपा एमालेले भव्य र सभ्य रुपमा प्रचारलाई व्यवस्थित गरेको बताउनुभयो ।

सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा पनि चुनावी प्रचार अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको नेकपा एमालेका स्थानीय कमिटीहरुले जनाएका छन् ।

Back to top button