गठबन्धन दलका नेताहरुले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ: नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ ।

सत्तापक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘राम्रोसँग व्यवस्थापन गरेका छौँ।’ ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उहाँले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो।

चुनावको माहोल अनुकूल बनाउने भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताउनुभयो।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको उहाँले बताउनुभयो।

राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्ने बताउँदै आफूलाई केन्द्रबिन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्ने उहाँको भनाइ छ।

‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धन दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ।’

Back to top button