कांग्रेस कमजोर भएर गठबन्धन गरिएको होइन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गरिएको स्पष्ट पार्नुभयो।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हिजो कांग्रेस र नेकपा माओवादी केन्द्रको नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो।

तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उहाँले जीवन विविधताकै कारणले चल्ने उल्लेख गर्नुभयो।

‘जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ। यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्’, उहाँले भन्नुभयो।

अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न उहाँले मतदातासामु आग्रह गर्नुभयो। तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उहाँले प्रशंसा गर्नुभयो।

तिलोत्तमामा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने योजना तारिफयोग्य भएको बताउनुभयो।

जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन्’,उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताउनुभयो।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गर्नुभयो।

नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको आरोप लगाउनुभयो। कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उहाँको भनाइ थियो।

प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बता‍उनुभयो।

यस्तै, कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार एवं कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राख्नुभयो।

Back to top button