आजदेखि २ नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौं । आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण गरि २ चलचित्र आजबाट प्रदर्शन भएको हो।

पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ।

चलचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ। लक्का जवान विशुद्ध अर्गानिक फिल्म भएको शिवहरिले बताउनुभयो।

यस्तै, कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको चलचित्र षड्कोण पनि आजदेखि नै प्रर्दशन हुँदै छ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ। यस चलचित्रलाई मिलन डी काप्रिले निर्देशन गर्नुभएको हो ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेख्नुभएको हो । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डी काप्रीको सम्पादन छ।

Back to top button