छिमेकीको घरमा गोली प्रहारमा संलग्न एक जना पक्राउ

पर्सा । छिमेकीको घरमा गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। प्रहरीले छिमेकीको घरमा गोली प्रहार गर्ने पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने २७ वर्षका सल्टु महतोलाई पक्राउ गरेको हो।

गएराति औराहा टोल बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उहाँको बाँसको टाटीमा गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियो।

उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा महतोको संलग्नता रहेको खुल्न आएकोले महतोलाई भाग्दै गरेको अवस्थामा आज बिहान साढे ९ बजे प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो। महतोको घर नजिकैबाट नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुकसमेत बरामद गरिएको खनालले बताउनुभयो।

पक्राउ परेका महतोलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको उहाँले बताउनुभयो।

Back to top button