काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा सुरु

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी आमसभा सुरु भएको छ ।

आमसभा शान्तिबाटिकामा केही बेरअघि सुरु भएको नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण सबुज बानियाँले जानकारी दिनुभयो । सभालाई पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने तयारी छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ र जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पनि सभालाई सम्बोधन गर्ने बानियाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले हिजोदेखि देशका प्रमुख शहरहरुमा आमसभा सुरु गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनमा आवद्ध पाँच दलले आवश्यकताको आधारमा तालमेल गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई उठाएको छ ।

Back to top button