बाँकेमा मतदान अधिकृतलाई तालिम सुरु

नेपालगन्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई ३ दिने तालिम सुरु गरिएको छ।

जिल्लामा १ सय ३६ मतदानस्थल र ३ सय ७९ मतदान केन्द्र तोकिएको छ। सुरक्षाका दृष्टिकोणले १ सय १२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलनका रुपमा हेरिएको छ।

मतदानस्थल र मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिनुभयो।

तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य एवं अधिकारक्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाबारे जानकारी गराइएको उहाँले बताउनुभयो।

‘मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तरिका लगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा समेत सिकाइएको छ’,उहाँले भन्नुभयो ।

तालिमको सहजीकरण मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्का, जिल्ला निर्वाचन अधिकारी रमा पन्त लगायतले गर्नुभएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ ले मतदानमा भाग लिने भएका छन्। स्थानीय तह निर्वाचनका लागि जिल्लामा करिब ४ हजार सुरक्षाकर्मी २ हजार २०० कर्मचारी परिचालन हुनेछन्।

Back to top button