पहिलो एकदिवसीयमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपाल जिम्बावे ए सँग ३ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

जिम्बावेका इनोसेन्ट काइयाले नटआउट ४८ रनको योगदान गर्नुभयो भने सेफास झुवावोले ३२ रन जोड्नुभएको छ । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिनुभयो।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गर्दा करण केसीले २५ रन बनाउनुभयो ।

कुशल भुर्तेलले १९ तथा दीपेन्द्र सिंह ऐरीले १८ रन जोड्नु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेल वर्षाले प्रभावित भएको थियो। तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

Back to top button