राष्ट्रिय पत्रकारीता दिवसमा प्रदेश १ का सञ्चारमन्त्रीको शुभकामना

विराटनगर । प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सातौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार एवम् सम्बन्धित क्रियाशील संघसंस्था र व्यक्ति सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

मुलुकको जेठो पत्रिका गोरखापत्र प्रकाशन भएको दिन (वि.सं.१९५८ बैशाख २४)को अवसर पारेर हरेक वर्षको बैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ ।

देशमा सकारात्मक जनमत निर्माण गर्न पत्रकारिता क्षेत्रको अग्रणी भूमिका रहेको चर्चा गर्दै उहाँले पत्रकारिताले सरकार र आमजनताबीच विश्वास बढाउन सेतुको काम गर्ने उल्लेख गर्नुभएको छ ।

‘लोकतान्त्रिक मूल्य मान्यतालाई मजबुत बनाउन, सशक्त र बलियो लोकतन्त्र निर्माण गर्न पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको म यस अवसरमा विशेष स्मरण गर्दछु’ सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले प्रदेश नं. १ को आमसञ्चार क्षेत्रलाई सम्बोधन गर्न सरकारका तर्फबाट ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा प्रस्तुत भई छलफलका क्रममा रहेको समेत उल्लेख गर्नुभएको छ ।

उक्त विधेयकमा प्रदेश मिडिया काउन्सिलको व्यवस्था, महिला, दलित, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका, दुर्गम क्षेत्रका एवम् विभिन्न राष्ट्रिय भाषामा सञ्चालित सञ्चारमाध्यमले विशेष सहुलियत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभएको छ ।

उहाँले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रदेश सरकारद्वारा पत्रकारिता क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने कार्यक्रम निर्वाचनलगत्तै गरिने समेत बताउनुभएको छ ।

Back to top button