साथीको हत्यामा सम्लग्न व्यक्ति सप्तरी प्रहरीद्धारा सार्वजनिक

सप्तरी । साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक का ३८ वर्षीय मोनाजिर मियाँलाई प्रह्रीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो ।

निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले मियाँलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।

मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल का ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो ।

महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा फेला परेको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई मियाँले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौति दिएको प्रहरीले जनाएको छ ।

आरोपित मियाँ यसअघि वि.सं. २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि कारागार चलान भएका मियाँ जरिवाना पश्चात नौ महिनापछि रिहा भएको प्रहरीले जनाएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहमा समेत सम्लग्न रहेको पाइएको छ ।

 

Back to top button