एमालेले मधेशमा भ्रम छर्ने काम गर्‍यो : प्रचण्ड

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ ।

आज धनुषामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको आरोप लगाउनुभयो ।

उहाँले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको दाबी गर्नुभयो ।

उहाँले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको भन्दै देशभर गठबन्धनको पक्षमा लहर आएको बताउनुभयो ।

Back to top button