सर्वनासभन्दा अर्धनास उचित ठानेर कांग्रेसले गठबन्धन गरेको होः पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनासभन्दा अर्धनास जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताउनुभएको छ ।

कांग्रेसले तनहुँको दमौलीमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतै कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हँसिया हथौडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘त्यो सम्झौता हो। संविधान पनि सम्झौताको दस्ताबेज हो। राजनीति पनि सम्झौताको दस्तावेज हो। सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ। आँट गर्नुपर्छ। हामीले एउटा नगरपालिकामा हँसिया हथौडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन्। कुरा त बुझ्नपर्‍यो नि । हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक–एक महानगर दिएका छौँ। यो लेनदेन हो। जम्मै हारेर सर्वनास हुनुभन्दा अर्धनास जाति हुन्छ नी। त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रुपमा प्राप्त गर्छौँ। हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ। र त्यसका निम्ति यो गठबन्धन हो।’

यस्तै, अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ। ‘यो देशमा भ्रष्टाचार, कमिसनतन्त्रको खेल धेरै भए। जनतामाथि शोषण, राजनीतिमा भ्रष्टाचार घुस्दैछ। त्यसबाट पनि देशलाई मुक्त गर्नुपरेको छ,’ उहाँले भन्नुभयो।

उहाँले गठबन्धनलाई प्रगतिशिल शक्तिहरूको एकताको संज्ञा दिनुभयो। गठबन्धनले केपी शर्मा ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ। गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामना गर्न आफू तयार रहेको नेता पौडेलले बताउनुभयो।

उहाँले आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गर्नुभयो। बरु आफ्नो लाइनमा देउवा आएको उहाँको दाबी छ।

Back to top button