कांग्रेस बूढो भएर कुहेका ढोडको लौरो टेक्यो : ओली   

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको टिप्पणी गर्नु भएको छ ।

आज नेकपा एमाले महानगर कमिटीले विराटनगरमा आयोजना गरेको महानगरस्तरिय चुनावी भेलालाई सम्वोधन गर्दै उहाँले कांग्रेस बूढो भएकै कारण लौरो टेकेको बताउनुभयो । ‘कति सारो बूढो भएको लौरो टेक्नुपर्ने’ ओलीले भन्नुभयो, ‘लौरो पनि मकैको ढोडको त्यो पनि कुहेको ढोड ।’

उहाँले नेकपा एमाले बाहेक अरुले देशको विकास गर्न नसक्ने दावी गर्नुभएको छ ।

एमालेलाइै जे सुकै विरोधीको आरोप लागेपनि सत्य सावित हुन नसकेको उहाँको भनाई छ । एमाले नेतृत्वको सरकारले देशमा नयाँ उत्साह ल्याएको बताउनु भयो । उहाँले विराटनगरको पुरानो गौरवपूर्ण इतिहासलाई एमालेले पुर्नस्थापित गर्ने बताउनुभयो ।

महानगरमा एमालेको नेतृत्व आउनेवित्तिकै विराटनगरको इतिहासलाई पुर्नस्थापित गर्दै आधुनिकीकरण गरिने बताउनुभयो ।

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ हुने बताउनुभयो । गठबन्धन एमालेले चाहे तत्काल टुट्ने भएपनी जेठ १७ गतेपछी आफै फिस्स पन्चर हुने बताउनुभयो ।

कोभिडको समयमा पनि एमाले नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिएको दावी गर्नुभएका अध्यक्ष ओलीले भन्नुभयो,‘ हामीले सरकार छाड्नेवित्तिकै मुलुकको अर्थतन्त्र डामाडोल भयो ।’

सभालाई सम्वोधन गर्दै उहाँले गठबन्धन वडामा पनि एक्लै लड्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । वडामा उठ्नपनि गठबन्धन गर्नेबाट विकासको आश नगर्न उहाँको आग्रह छ ।

विराटनगरको बिकासका लागि एमालेका उम्मेदवारले नै जित्नु पर्ने बताउनु भएका ओलीले विराटनगरको बिकास गरेरै छाड्ने बताउनुभयो । अहिले बजेट आएपनी डोकोमा पानी हालेजस्तो मात्र भएको टीप्पणी गर्नुभयो ।

चुनावी भेलामा मेयरका उम्मेद्वार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगरको बिकासका लागि आफूहरूले खेल्ने भुमिकाका बिषय प्रस्ट्याउनुभयो ।

 

Back to top button