पराजित मानसिकताको उपजले कांग्रेस प्रोपोगाण्डामा उत्रियो :रंगेली एमाले

रंगेली । मोरङको रंगेलीमा निर्वाचनमा पराजय हुने देखिएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको नेकपा एमालेले आरोप लगाएको छ ।

एमालेले रंगेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलीप बगडीयाको लोकप्रियताका कारण कांग्रेसका उम्मेदवारले निर्वाचन जित्ने अवस्था नदेखेपछि अनेक प्रोपोगाण्डा रच्न थालेको आरोप लगाएको छ ।

शुक्रबार राति रङ्गेली–८ स्थित चाइना गेट टोलमा एमालेका उम्मेदारको तर्फबाट मतदातालाई पैसा बाँड्न आएको झुटो आरोप लगाउँदै कांग्रेस कार्यकर्ताले हो–हल्ला गरेका थिए ।

नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता हेम थापाले सूचना विभाग र प्रेस काउन्सिल दर्ता समेत नरहेको ‘रंगेली न्यूज’ नामक फेकबुक पेजबाट लाइभ गर्दै मतदातालाई पैसा बाँडेको भन्दै भ्रम फैल्याउन खोजेको बताइएको छ ।

थापासहित कांग्रेस कार्यकर्ताहरुको समूहले एमाले कार्यकर्ताको गाडीमा नाटकीय ढङ्गले आफैले झण्डा राखेर सोही गाडीको भिडीयो देखाउँदै पैसा बाँडेको झुटो अफवाह फैल्याएको एमाले रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले बताउनुभयो ।

‘हामी आफ्नै पार्टी कार्यकर्ताको घरभित्र बसेर छलफल गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफै हाम्रा साथीको मोटरसाइकलमा झण्डा राखेर यो गाडी पैसा बाँड्न आएको हो भन्दै सुनियोजित रुपमा फेसबुक लाइभ गर्दै हो– हल्ला गरे’– बस्नेतले भन्नुभयो ।

उहाँले मेयरका उम्मेद्वार बगडीयाले पाँच वर्षमा गरेको काम जनताले अनुभूति गरिसकेको र एमाले जितको नजिक पुगसकेकाले विपक्षीहरु अत्तालिएर प्रोपोगाण्डामा उत्रिएको दावी गर्नुभयो ।

प्रहरी प्रशासनको समेत उपस्थिति रहेको र पैसा बाँडेका भए पैसा भेटिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘कसैको मोटरसाइकल देखाएर यो गाडी पैसा बाँड्न आएको हो भन्दै लाइभ गर्छ भने पैसा बाँडेको पुष्टि हुनुपर्छ नि ? अन्यथा कानुन विपरीत भ्रम फैल्याउनेलाई कडा कारबाही हुनुपर्छ ।’

लाइभ गरेको भिडियोमा कांग्रेसका कार्यकर्ता थापाले बोल्दै मोटरसाइकल देखाएर पैसा बाँड्न आएको भनेर हो हल्ला गरेको देखिन्छ । सोही कारण भीड जम्मा भएको अध्यक्ष बस्नेतको दाबी छ । यसरी कानुन विपरीत उम्मेद्वार विरुद्ध भ्रम फैल्याउने व्यक्ति उपर कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी सहसचिव सन्तोष साहले पैसा बाँडेको आरोप लगाउनु पराजित मानसिकताको उपज भएको बताउनुभयो । उहाँले आफ्नो पार्टी कार्यकर्ताको घरमा जाँदा कांग्रेस कार्यकर्ताले हो हल्ला गरेको बताउनुभयो ।

हो– हल्ला गर्दै शुक्रबार एमाले उम्मेद्वार अग्रवालको गाडी समेत तोडफोड गरिएको छ । उक्त स्थानमा हो हल्ला भएको खबर पाएपछि नेता अग्रवाल घटनास्थलमा पुग्नुभएको थियो ।

अग्रवाल पुग्नु अघि नै प्रहरीको टोली घटना स्थलमा पुगिसकेको र प्रहरीकै उपस्थितिमा कांग्रेस कार्यकर्ताले आफ्नो गाडीमा तोडफोड गरेको अग्रवालको आरोप छ ।

यता जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पैसा बाँडेको भन्ने हल्ला मात्रै भएको बताउनुभएको छ । उहाँले पैसा बरामद नभएको बताउनुभयो । उहाँले त्यहाँ कसैलाई पक्राउ नगरि भिडबाट केहि ब्यक्तिलाई रेस्क्यु मात्र गरिएको बताउनुभयो ।

मेयरका उम्मेदवार बगडीयाले सो विषयमा प्रतिकृया दिँदै एमालेले सवै पदमा जित्ने सुनिश्चितता देखेर आफ्ना प्रतिष्पर्धीको हतास मानसिकताको उपजका रुपमा यस्तो अफवाह फैलाएको बताउनुभयो ।

उहाँले आफुले पैसा बाँडेको भेटिए उम्मेदवारी नै त्यागिदिने घोषणा गर्नुभयो । हल्लाको भरमा मतदातालाई भ्रममा पार्ने काम हतास मानसिकताको उपज हो ’ उहाँले भन्नुभयो, ‘मैले बाँडेको पैसा हो भनेर भेटियो भने तत्काल म उम्मेदवारी नै त्यागिदिन्छु ।’

Back to top button